नयाँ दिल्ली, छिमेकी मुलुक भारतको विहिबार सम्पन्न मतगणना पछि भारतको आदिवासी समुदायबाट पहिलो व्यक्ति द्रौपदी मुर्मू १५औं राष्ट्रपतिका रुपमा निर्वाचित भएकी छन् । सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले पूर्वराज्यपाल रहेकी मुर्मूलाई उम्मेदवार बनाएको थियो ।
मुर्मूलाई यस निर्वाचनमा जितका लागि ५ लाख ४३ हजार २ सय १६ मतमूल्य आवश्यक थियो तर उनले ५ लाख ७७ हजार ७ सय ७७ मतमूल्य प्राप्त गरी विजयी भएकी हुन् ।मुर्मूले ७२ प्रतिशत मत प्राप्त गरेकी छन् ।उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले २ लाख ६१ हजार ६२ मत मूल्य प्राप्त गरेका छन् । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुन् ।
भारतमा राष्ट्रपति चुनावका लागि लोकसभा, राज्यसभा र विधानसभाका सदस्यहरु मतदाता हुन्छन् । भारतमा लोकसभा र राज्यसभामा निर्वाचित सांसदको संख्या ७ सय ७६ छ । त्यस्तै, ४ हजार ३३ जना विधायक छन् । सबै राज्यमा र केन्द्रमा १८ जुलाईमा मतदान भएको थियो ।
नयाँ राष्ट्रपतिका रुपमा मुर्मूले आगामी जुलाई २५ मा शपथ ग्रहण गर्ने छिन् । भारतको सर्वोच्च अदालतका मुख्यन्यायाधीशबाट उनले शपथ लिने भारतीय सञ्चारमाध्ययमहरुले जनाएका छन् ।