काठमाडौं, आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज पर्व । सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्।
यो पर्वको दिन आज बिहान महिलाहरु सबेरै उठेर स्नान गरी दिनभर निराहार व्रत बस्ने गर्दछन् । यो दिन हिन्दु धर्मावलम्बीहरुले उमामहेश्वरको आराधना गर्ने परम्परा रहिआएको छ। पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीले आजको दिन निराहार व्रत बसी कठिन तपस्या गरि महादेव स्वामी पाउँ भनी यो व्रत वसेको र महादेव स्वामी पाएकी थिइन् । त्यसैले यहि प्रकृयाबाट व्रत बस्दा आफ्नो मनोकामना पुरा हुन्छ भन्ने विश्वास रहिआएको छ।
आजको दिन विवाहिता महिलाले पति तथा आफ्ना सन्तानको सुस्वास्थ्यको कामना गर्ने गर्दछन भने अविवाहिताहरुले असल पतिको कामनामा व्रत बस्ने परम्परा रहिआएको छ। उपत्यकामा रहेको पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत शिवालयहरुमा आज श्रद्धालुहरुको घुइँचो लागेको छ।
तीजको अघिल्लो दिन माइतीले आफ्ना चेलिबेटीलाई निम्तो गर्ने गर्दछन् । साथै आफ्ना सबै दिदीबहिनीहरू एकै ठाउँमा जम्मा भएर ‘दर’ खाने गर्दछन् । यसका साथै विभिन्न नाचगान गरेर यो पर्व मनाउने गर्दछन् ।
इनेपाल पोष्ट डट कम परिबार सम्पूर्ण नेपालीहरुमा यो पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।