काठमाडौं, आज कुशे औंसी पर्व । बाबुको मुख हेर्ने दिन । भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी पर्वको नामले चिनिने यो दिनमा आज घरघरमा पवित्र कुश भित्र्याएर यो पर्व धुमधामका साथ मनाइँदैछ ।
आजको दिन सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश घरमा राखेर पूजा गर्ने गर्छन् । यी कुश ब्राह्मणहरूद्धारा शास्त्रोक्त विधिअनुसार पूजा गरेर छेदन गरेर जजमानको घर घरमा पुर्याउने गर्छन् । उक्त कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ । हाम्रो हिन्दु धर्मग्रन्थमा उल्लेख भए अनुसार वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको स्वरूप मानी पूजाआजा गर्ने गर्छन् ।
आजको दिनमा छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवस समेत भनिन्छ ।
यो दिन बाबुको मृत्यु भैसकेका मानिसहरु देशका बिभिन्न भागमा रहेका नदीहरुका साथै राजधानी उपत्यका भित्रका वाग्मती, चन्द्रमती र सूर्यमती नदीको संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिधा दानसमेत गर्ने गर्छन् । राजधानीको गोकर्णमा आज मेलासमेत लाग्छ ।