काठमाडौं, प्रतिनिधिसभाको आइतबार बस्ने बैठक स्थगित भएको छ। शनिबार राती नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको संसद सचिवालय स्रोतले जनाएको छ।
आइतबार नेता गिरीको श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको सचिवालयले जनाएको छ। नेता गिरीको शनिबार राति साढे ९ बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो।
गिरीको पार्थिव शरीरलाई बिहान अस्पतालको शिवालय र पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ र त्यसपछि आजै पशुपतिमा अन्त्येष्टि गरिने बताइएको छ।