वासिंगटन, झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर धुम्रपान गर्ने व्यक्तिको आसपास बस्ने मानिसहरुलाई क्यान्सरको निकै खतरा हुने कुरा हालै गरिएको एक अध्ययनले देखाएको छ । द लान्सेट जर्नलमा प्रकाशित एक नयाँ अध्ययनमा दावी गरिए अनुसार धुम्रपान गरिरहेको व्यक्तिको आसपास बस्नाले त्यहाँबाट निस्कने धुवाँ फोक्सोमा पस्दा त्यसले क्यान्सर समेत गराउन सक्दछ ।
ग्लोबल वार्डेन अफ डिजिज, इन्जरीज एण्ड रिस्क फ्याक्टर्स (जीबीडी) २०१९ अध्ययनको नतिजाहरुको प्रयोग गरेर अनुसन्धानकर्ताहरुले गरेको एक गहिरो अध्ययनबाट यो कुराको खुलासा भएको हो ।
वासिंगटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको अध्ययन अनुसार प्रत्येक दिन धुम्रपान गर्ने व्यक्तिको नजिकमा रहने सबै मानिसहरुको फोक्सोमा धुम्रपान गर्दा निस्केको चुरोटको धुवाँ प्रवेश गर्दछ । यस अध्ययनबाट अनुसन्धानकर्ताहरुले के पत्ता लगाए भने धुम्रपान, रक्सीको सेवन तथा शरीरको तौल धेरै हुनु क्यान्सरको प्रमुख तीन कारणहरु हुन् । यस अनुसन्धानका क्रममा व्यवहारिक, पर्यावरणीय र पेसेवर कारणले २३ प्रकारका क्यान्सर बाट मानिहरुको मृत्यु तथा स्वास्थ्य खराब हुने गरेको पाइएको थियो ।
यसका साथै असुरक्षित यौन सम्पर्क, रगतमा सुगरको मात्रा बढ्नु, वायु प्रदुषणका साथै दुध जन्य पदार्थको कमी भएका आहार तथा धुम्रपान गर्ने मानिसहरुको नजिकमा बस्नु पनि क्यान्सर जस्तो डरलाग्दो रोग हुन सक्ने कारणहरुमा पर्ने अध्ययनका क्रममा देखिएको थियो ।