नैरोबी, नेपाल र केन्याबीचको टी २० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ । यो श्रृंखला पाँचवटा खेलको हुनेछ । नैरवीको जिमखाना क्लब मैदानमा नेपाल केन्याबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुने छ । यस श्रृंखलामा आज हुने पहिलो खेलमा राम्रो प्रदर्शन गर्दै सुखद नतिजा निकाल्ने लक्ष्यमा नेपाली टोली रहेको छ ।
नेपाली टिमले राम्रो नतिजा निकाल्ने बताए पनि भिसा समस्याका कारण सबै खेलाडीहरु भने एकै पटक केन्या जान सकेनन् । यस श्रृंखलाका लागी नेपाली टोलीका ११ जना खेलाडीहरुका साथै मुख्य प्रशिक्षक प्रभाकर सहितको टोली सोमबार राति नै केन्या गएको थियो । तर सोमपाल कामी, विवेक यादव, आदिल आलम, बसिर अहमद र शाहब आलम भने भिसा समस्याको कारण टिमसँग जान पाएका थिएनन् । सोमपाल कामी र विवेक यादवको भने भिसा आएर मंगलबार राति नै केन्या प्रस्थान गरेका छन् भने बाँकी ३ खेलाडी अझै नेपालमै छन् ।
यस श्रृंखलाको दोस्रो खेलमा नेपालले १० गते प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, १२, १३ र १४ गते तेस्रो, चौथो र पाँचौ खेलहरु खेल्नेछ । यसपछि ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । नेपाली टोलीले पहिलो खेल भदौ १७ दोस्रो १८ र अन्तिम खेल २० गते खेल्ने भएको छ ।